एक बोरा धान चोर्न वृद्धाको हत्या, अपराधीलाई पत्रकार सम्मेलनद्वारा सार्वजनिक

बिबेक कुमार यादब

मलंगवा, चैत २२ – जिल्लाको बागमती नगरपालिका–४, जिरायतमा एक वृद्धाको हत्यामा संलग्न युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिरायत जंगल टोल बस्ने बौधु महतोकी श्रीमती ७० वर्षीया पार्वतीकुमारी महतो भन्ने पार्वतीदेवीको अस्ती मंगलबार बेलुका घरमै हत्या भएको थियो । प्रहरीले पार्वतीको हत्यामा संलग्न रहेको आरोपमा रौतहटको बृन्दावन नगरपालिका–५, नरकटिया बस्ने ३९ वर्षीय प्रमोद झा भन्ने प्रमोद चौधरीलाई पक्राउ गरी आज सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । प्रारम्भिक अनुसन्धानमा प्रमोद चोरी गर्न गएका बेला वृद्धा प्रमिलादेवीले प्रतिकार गर्दा उनको हत्या भएको हुनसक्ने आशंका गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले बताए ।

प्रमोदले प्रमिलादेवीको अनुहारमा काठको मुढो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनायो । प्रमोदले जिरायत क्षेत्रमा ज्याला मजदुरीको काम गरेरेर हिँड्ने गर्थे ।

प्रहरी निरीक्षक गिरीका अनुसार घटनाको अनुसन्धानका क्रममा प्रमिलादेवीको घरमा राखिएको सात बोरा धानमध्ये छ बोरा धानमात्रै फेला परेको छ । सिसिटिभी फूटेजका आधारमा महतोको घरबाट चोरी भएको धान प्रमोद चौधरीले बोकेर हिँडेको देखिएको प्रहरीले जनाएको छ ।

चौधरी चोरी भएको धान बोकेर बागमती नगरपालिका–४, घिमिरे चोकमा रहेको किराना पसलमा बिक्रीका लागि पुगेको देखिन्छ । तर त्यहाँ पसलेले धान किनेनन् ।

त्यसपछि चौधरी भागेर घरतर्फ लागे । उनलाई प्रहरीले नहरको बाटो भएर रौतहटतर्फ भाग्दै गर्दा हिजो बिहान बागमती नगरपालिका–१, बाट पक्राउ गरेको हो । प्रहरीले चौधरीलाई कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप सोधपुछ तथा अनुसन्धान गरिरहेको बताएको छ ।

घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सर्लाही प्रहरी प्रमुख (एसपी) दयानिधी ज्ञवाली, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठ, हरिवनका इन्स्पेक्टर गिरीलगायतको उपस्थिति रहेको थियो ।

Comments
Loading...