श्रोत नखुलेको रकम सहित हुण्डी कारोबारी पक्राउ

बिबेक कुमार यादब

चैत १९ सर्लाही । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा स्रोत नखुलेको २७ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले २७ लाख ७५ हजार नौ सय ७० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका–३ बस्ने ४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका–७, घरभई मलंगवा नगरपालिका–९ स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी छन् ।

प्रहरीका अनुसार मलंगवा नगरपालिका–९ बाट १० लाख र लक्ष्मी सनराइज बैंकको खातामा नौ लाख ९० हजार जम्मा गर्ने दुईवटा भौचरसहित सुरुमा कमर राजालाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविनकुमार कार्कीले राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमासमेत छापा मारेको थियो । पसलबाट स्रोत नखुलेको १७ लाख ७५ हजार नौ सय ७० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरुले अवैध हुण्डी कारोबार गरेको आशंकामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञावालीले जानकारी दिए । उनीहरुलाई प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि सोमबार बिहानमात्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो ।

Comments
Loading...