जनकपुरधामस्थित रहेकाे जानकी मन्दिरको मुलढोका ८१ दिनपश्चात आजदेखि सर्वसाधारणका लागि खाेलियाे

जनकपुरधाम, ४ असार । ऐतिहासिक जानकी मन्दिरको मूलद्वार खुल्ला गरिएको छ । सम्भवतः पहिलोपटक लामो समय हिन्दूहरूको आस्थाको केन्द्र एवं सय वर्षभन्दा पुरानो जानकी मन्दिरको मूल ढोका बन्द गरिएको थियो ।

झण्डै तीन महिनापछि लकडाउन खुकुलो भएसँगै आज जानकी मन्दिरको पूर्व पट्टीको मूल ढोकाको ताल्चा खुलेको छ । मूल ढोका खुलेसँगै सर्वसाधारणको चहलपहल समेत बढेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रास एवं लकडाउनका कारण बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिरको मुलढोका ८१ दिनपश्चात आजदेखि सर्वसाधारणका लागि खोलिएको हो । कोरोनाको संक्रमणको खतरालाई मध्यनजर गर्दै मन्दिरमा भीडभाड हुन नदिनका लागि चैत १५ गतेदेखि मन्दिरको मूलढोका सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

लकडाउनको अवधिमा मन्दिरमा प्रत्येक दिन बिहान र बेलुका हुने पूजापाठ एवं आरती जारी रहे पनि मन्दिरको मूलढोका सर्वसाधारणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा बन्द गरिएको थियो ।

सन् १९११ मा स्थापना गरिएको जानकी मन्दिरको १ सय ९ वर्षको इतिहासमा पहिलोपटक सर्वसाधारणका लागि मूलढोका ८१ दिनसम्म बन्द गरिएकोको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले न्यूज २४ लाई जानकारी दिनुभयो ।

लामो समय पश्चात मन्दिर खुलेपछि दर्शन गर्नेहरुको भीड ह्वात्तै बढेको छ । तर भक्तजनहरुले सामाजिक दूरीको ख्याल नगर्दा समस्या उत्पन्न भईरहेको भन्दै दासले चिन्ता व्यक्त गर्नुभयो ।

महन्थ दासले सामाजिक दूरीको पालना गराउनतर्फ स्थानीय प्रशासनले पहल गरिदिन र दैनिक सेनिटाइज गर्ने व्यवस्था मिलाईदिन जनकपुरधाम उपमहानगरपालिकासँग आग्रह गर्नु भएको छ

Comments
Loading...