बरहथवामा गहुँको भुसा बोकेको ट्याक्टर पल्टियो, एक किशोरको मृत्यु, ४ घाइते

चन्दन कुमार मिश्र

बैशाख ११ बरहथवा । सर्लाहीको बरहथवा नगरपालिका–१५, हरपूर्वामा गएराति गहुँको भुसा बोकेको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

राति १० बजेपछि हरपूर्वामा खेतबाट गहुँको भुसा लोड गरेर पिप्राभित्तातर्फ आउँदै गरेको अनटेष्ट ट्याक्टर नहरको बाटोमा अनियन्त्रित भई पल्टँदा बरहथवा नगरपालिका–६, बस्ने १७ वर्षीय राजकुमार सिंहको मृत्यु भएको प्रहरीले जनायो । उनी ट्याक्टरको इन्जिनमा च्यापिएका थिए । टाउकोमा चोट लागेर गम्भीर घाइते उनलाई उपचारका लागि बरहथवास्थित एक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको बरहथवाका डिएसपी गौतम थापाले बताए ।

दुर्घटनामा मृतक राजकुमारमा बुवा समेत रहेका ट्याक्टर चालक तथा ट्याक्टरका धनी ४० वर्षीय रामअवतार सिंह राय, उनकी पत्नी ४२ वर्षीया शान्ति देवी, उनीहरुको अर्का छोरा १२ वर्षीय बब्लुकुमार सिंह र बरहथवा नगरपालिका ५ का ५० वर्षीय प्रमोद सिंह घाइते भएका छन् ।

घाइते चारै जनालाई बरहथवामा सामान्य उपचारपछि राति नै थप उपचारार्थ वीरगन्जतर्फ रेफर गरिएको डिएसपी थापाले जानकारी दिएका छन् ।

ट्याक्टर घटनास्थलबाट उठाएर लौकठस्थित प्रहरी चौकी हीरापुरमा ल्याइ राखिएको छ । राति दुर्घटनापछि प्रहरी र स्थानीय घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेका थिए ।

Comments
Loading...