बालबालिकासँग रमाउँदै रुपान्तरण कक्षाको समापन

लोकप्रिय समाचारदाता

सर्लाही, सावन १३ । जिल्लाको हरिपुर्वा नगरपालिका तथा पर्सा गाउँपालिकामा २६ हप्ता सम्म चलेको रुपान्तरण कक्षा आज समापन भएको छ । उक्त समापन कार्यक्रममा रुपान्तरण कक्षामा सहभागी भएका आफ्ना बालबालिकामा आएको परिवर्तन देखेर हरिपुर्वा वडा –४का अभिभावक, शिक्षक, सामाजिक अगुवा, वडा अध्यक्ष खुशी भएका छन् । अभिभावकहरुले आफ्ना बालबालिकासँग पहिला र अहिले के कस्तो परिवर्तन आएको बारेमा सोध्दा बालबालिकाहरुले निर्धक्कसँग उनीहरुमा भएको सकारात्मक परिवर्तनको बारेमा बताएका थिए । रुपान्तरण कक्षाका हरिपुर्वा वडा नम्बर–४ का सहभागी मध्यका एक पार्वती महरा भन्छिन् “म पहिला मानिसहरुको अगाडी बोल्न डराउँथे तर अहिले डराउँदिन। आफ्नो अधिकार र कर्तव्यको बारेमा जानकार छु । बालबिवाह गर्न हुँदैन भन्ने जानकारी राख्दछु । साथै पहिला अनावश्यक खर्च गर्दथे तर रुपान्रण कक्षामा आई सकेपछि आफूलाई चाहिने मात्र खर्च गर्छु ।”
+ २(१२ कक्षा) पास गरी २० वर्ष पछि बिवाह गर्नेलाई उचित पुरस्कार तथा सम्मान साथै SEE मा + A ल्यााउने लाई रु.५ हजार प्रदान गर्ने साथै वडा कार्यालयमा रहेको बाल मैत्री सिकाई केन्द्रमा बालबालिका तथा किशोरकिशोरीलाई कम्प्युटर सिक्न ३ वटा कम्प्युटर वडाको आन्तरिक श्रोतबाट भए पनि चाँडै को व्यवस्था गर्ने हरिपुर्वा वडा–४ का वडा अध्यक्ष नोखेलाल रायले प्रतिबद्धता जाहेर गरे । अध्यक्ष राय भन्छन्, “ हाम्रा बालबालिका तथा किशोर किशोरीमा आएको परिवर्तन देखेर आज म धेरै नै रमाएको छु । आउँदा दिनहरुमा पनि यसरी नै रुपान्तरण कक्षा सञ्चालनबाट बालबालिका तथा किशोरकिशोरीमा परिवर्तन देख्न चाहन्छु जसको लागि वडाले सक्दो सहयोग गर्छ र हाम्रो यो वडा आगामी २०८०÷०८१ भित्र बाल मैत्री वडा घोषणा गर्ने प्रतिबद्धता पनि गर्दछ ।”


बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बादे भन्छन्, “वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्गत रुपान्तरण कक्षा सञ्चालन भएको कार्यक्रमबाट २४० जना बालबालिका तथा किशोरकिशोरीहरु लाभान्वित भएको छन् जसबाट बालबालिका तथा किशोरकिशोरीहरुले मेरो संसार, आत्म जागरण, राम्रो तथा सुधार गर्नु बानी, अधिकार र कर्तव्य, किशोरावस्था, खर्च तथा बचत, पोषण, बैकल्पिक जीविकोपार्जन, प्राथमिकि उपचार, यौन तथा प्रजनन् स्वास्थ्य, लैङ्गिक तथा सामाजिक समावेशीकरण जस्ता जीवन उपयोगी सीप सिक्नुका साथै यौन जन्य हिंसा तथा अन्य हिंसाबाट बाँच्नको लागि आत्मरक्षाका कौशल समेत किशोरकिशोरीहरुले सिकेका छन्।”
संयोजक बादे थप्छन् “गएको पुसबाट सञ्चालन भएको रुपान्तरण कक्षा हरिपुर्वाको १, ४, ५,६, ७ र ९ मा त्यसै गरि पर्सा गा.पा.को सबै वडामा सञ्चालन भएको थियो । उक्त कक्षा सञ्चालनको लागि पर्सा गा.पा.बाट ५५,६०० बराबरको आवश्यक शैक्षिक सामाग्रीको साथै सबै वडाबाट सहभागीहरुको लागि खाजाको समेत व्यवस्था गरिएको थियो । हरिपुर्वा वडा नम्बर–४ बाट कक्षा सञ्चालानार्थ त्रिपाल,सबै सहभागीहरुलाई खाजा(बिस्कुट) का साथै बाल मैत्री कक्ष समेत उपलब्ध गराएको छ ।”

Comments
Loading...