बिजुलीको महशुल घटाउन माग गर्दै सडकमा माछा फालेर प्रदर्शन

लोकप्रिय समाचारदाता

चैत ०९ सर्लाही । सर्लाहीका माछापालक किसानले शुक्रबार बिहान फूलजोर चोकस्थित पूर्व पश्चिम राजमार्ग ९हाइवे० मा माछा फालेर प्रदर्शन गरेका छन् ।

एक्कासी बढाइएको विद्युत् महशुल फिर्ता गरी पहिलेकै महशुल कायम गर्न माग राख्दै माछाको पकेट क्षेत्र मानिने ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका किसानले प्रदर्शन गरेका हुन् । उनीहरुले सडकमै माछा फालेर केहीबेर नाराबाजीसहित चक्काजाम समेत गरे ।

माछापालक किसान ईश्वरपुर नगरपालिका ३ का रामनारायण सहनीले अहिले बढाएको विद्युत् महशुल अनुसार माछापालन गर्दा आफूहरुलाई टिक्नै गाह्रो पर्ने दुःखेसो पोखे । उनले विद्युत् महशुल बुझाउन नसकेर व्यवसाय नै त्याग्नुपर्ने अवस्था आएपछि सडकमा उत्रिएको बताए ।

आन्दोलित माछापालक किसानले विद्युत्को पुरानो महशुल कायम गर्न माग गरेका छन् । किसानले भारतीय माछाका कारण आफूहरुले उत्पादन गरेको माछाले भाउ नै नपाइरहेको अवस्थामा चर्को विद्युत् महशुल लिँदा व्यवसायमा टिक्नै मुस्किल परेको गुनासो गरेका छन् ।

माछापालन किसानसँगै प्रदर्शनमा उत्रिएका ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले आफ्नै ठाउँमा माछापालन गरेर आयआर्जनमा लागेका किसानलाई विद्युत् महशुल वृद्धि गरेर अन्याय गरिएको बताए । मेयर आचार्यले माछापालक किसानको माग सम्वोधनका लागि आफू सिंहदरबारमै पुगेर लम्पसार पर्न समेत तयार रहेको बताए ।

नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रले कृषि मिटर राख्दै आएका माछापालक किसानलाई गएको साउनदेखि उद्योग अन्तर्गत राखेर विद्युत महशुल उठाउँदै आएको छ ।

लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर त्रिभुवन यादवले माछापालनका लागि सिँचाई मिटरको प्रयोग गर्न नपाइने बताए । इन्जिनियर यादवले सरकारले माछापालनलाई कृषि अन्तर्गत राखेपनि विद्युत प्राधिकरणको नियमावलीमा त्यासे उल्लेख नरहेको बताए ।

प्राधिकरणले कृषि मिटरको महशुल प्रति युनिट दुई रपियाँ २५ पैसा लिँदै आएको छ । माछापालक किसानले माछापालनका लागि प्रयोग भएको मिटरको पनि सोही अनुसार महशुल लिनुपर्ने माग राखेर आन्दोलन सुरु गरेका हुन् ।

माछापालक किसानको प्रदर्शनमा ईश्वरपुरका नगरप्रमुख आचार्य, पूर्व नगरप्रमुख मनोजकुमार देवकोटा, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ र विभिन्न राजनीतिक दलका नेताहरु समेत सहभागी भएका छन् ।

उज्यालो अभियान

Comments
Loading...