सर्लाहीको गोडैतामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु, १ जना घाइते

लोकप्रिय समाचारदाता

गोडैता – सर्लाहीको गोडैतामा बिहीबार दिउँसो ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा अर्का एक युवक घाइते भएका छन् । गोडैता नगरपालिका–१०, झगरु चोकस्थित भित्री सडक खण्डमा ना १ त ७६७८ नं. को बालुवा लोड भएको ट्याक्टरले ज २ प ४५२ नं. को मोटरसाइकललाई ठक्कर दिँदा २६ वर्षीय छेकन बैठाको मृत्यु भएको हो ।

जिल्लाको चन्द्रनगर गाउँपालिका–६, कामद बिर्ता बस्ने बैठा मोटरसाइकलको पछाडि सवार थिए । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल र ट्याक्टर एकआपसमा ठक्कर खाँदा बैठाको घटनास्थमै मृत्यु भएको हो ।

मृतक बैठाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । दुर्घटनामा मोटरसाइकल चालक कामद बिर्ताकै २३ वर्षीय रवीशङ्कर बैठा भन्ने छेदी बैठा घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ ।

दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय श्रेष्ठले जानकारी दिए ।

 

Comments
Loading...