सर्लाहीको लखन्देही खोलाबाट २ डोजर सहित ९ टिपर प्रहरी नियन्त्रणमा

लोकप्रिय अवाज समाचारदाता पुस २९ २०७९

सर्लाही — सर्लाहीको नवलपुरस्थित लखन्देही खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा प्रहरीले दुई डोजरसहित ९ वटा टिपर नियन्त्रणमा लिएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने लखन्देखी पुलदेखि झण्डै १ किलोमिटर उत्तरमा मापदण्डविपरीत अवैध उत्खनन गरिरहेका जेसीबी र टिपरलाई प्रहरीले शुक्रबार दिउँसो चालकसहित नियन्त्रणमा लिएको हो । जेसीबी र टिपर इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।
प्रहरीले नियन्त्रण लिएका ना ७ ख २६६५, ना ७ ख ८९२१, ना ७ ख ५९९५, ना ७ ख ५४५६, ना ७ ख ६४३९, ना ७ ख २९८५, ना ७ ख ६७८९, प्रदेश २–०३–००१ ख ४२४३ र प्रदेश २–०३–००१ ख ०२०१ नम्बरको टिपर र दुई वटा जेसीबी रहेका छन् । ठेक्का लागे पनि त्यहाँ निकै गहिरो खाल्डो बनाएर जोखिम निम्तने गरी उत्खनन भइरहेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जेसीबी र टिपरलाई चालकसहित नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको बताए । यसअघि स्थानीय तह, प्रहरी, प्रशासनको साँठगाँठमा अवैध उत्खनन हुँदै आएको स्थानीयको भनाइ छ ।

Comments
Loading...