हरिपुर्वा नगरपालिकाको ११औ नगर सभाले ल्यायो ६४ करोडको बजेट

मुकेश झा

फागुन ०७ हरिपुर्वा । तनावका बिच सात महिना ढिलो गरी सर्लाहीको हरिपूर्वा नगरपालिकामा आज बल्ल ११ औँ नगरसभा सम्पन्न भएको छ । नगरप्रमुख विनोद कुमार साह तेलीले ४९ जना नगरसभा सदस्यमध्ये २६ जना बहुमत सदस्यको उपस्थितिमा नगरसभा सम्पन्न गरिएको दावी गर्नुभयो । सभाबाट चालू आर्थिक वर्ष २०८०/०८१ का लागि ६४ करोड ६८ लाख ६७ हजार रुपियाँ बराबरको बजेट पारित गरिएको नगरप्रमुख साहले बताउनुभएको छ ।


राजनीतिक हानाथाप र प्रमुख प्रशासकीय अधिकृतको अभावमा हरिपूर्वामा असार मसान्तभित्रै हुनुपर्ने नगर सभा अहिलेसम्म हुन सकेको थिएन । साउनदेखिको तलब नपाएपछि कर्मचारीहरुले कार्यालय बन्द गरेर र शिक्षकहरुले विद्यालय बन्द गरेर धर्नामा बसेपछि नगरप्रमुख साहले बहुमत जुटाएर नगर सभा सम्पन्न गर्नुभएको हो । नगरप्रमुख साहले नगर कार्यपालिकाबाट सहमती जुटाई नगर सभा गर्न पटक–पटक प्रयास गरेपनि सफल नभएपछि बाध्य भइ बहुमतबाट निर्णय लिनुपरेको बताउनुभयो । “तलब, भत्ता निकासा नहुँदा नगरपालिका, विद्यालय, स्वास्थ्य संस्था सबैको सेवा ठप्प भयो, बजेट नभएर स्वास्थ्य संस्थामा सिटामोल धरी सक्कियो,” नगरप्रमुख साहले भन्नुभयो,“ यस्तो विकराल अवस्था आएपछि बहुमतबाट नगरसभाको निर्णय गर्नुपरेको हो ।

हरिपूर्वाबाट अन्यत्र सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृत (उप–सचिव) शम्भुप्रसाद यादवले तत्काल रमाना नलिसकेकाले उहाँलाई नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा राखेर नगरसभा सम्पन्न गरिएको हो । नगरपालिका कार्यालयमै भएको नगरसभामा जनप्रतिनिधिबिच विवादपछि केहीबेर कुर्सी हानाहान र तोडफोड समेत भएको छ । नगरप्रमुखसँग असन्तुष्ट जनप्रतिनिधिको तोडफोडबाट कार्यालयको कुर्सीलगायतका सामग्रीमा क्षति पुगेको छ ।

नगर उपप्रमुख सुमित्रा देवी ग्वारनीले आफूलाई कुनै सोधखोज नगरी एक्कासी नगरसभा गरेको बताउनुभयो । उहाँले नगरसभामा आफ्नो सहमती नरहेको बताउनुभएको छ । “नगरसभा राख्नेबारे मसँग नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सल्लाह नै गर्नुभएन, आज एक्कासी नगरसभा भनेर चिठ्ठी प्राप्त भयो,” उपप्रमुख ग्वारनीले भन्नुभयो । नगर उपप्रमुख ग्वारनीसहित केही जनप्रतिनिधि नगरप्रमुख साहको विरुद्धमा रहेका छन् । नगरसभा चलिरहँदा तथा सम्पन्न भएपश्चात पनि आज दिनभर हरिपूर्वा नगरपालिका कार्यालय परिसरमा नगरसभाको पक्ष र विपक्षमा प्रदर्शन भइरह्यो ।

अप्रिय घटना हुन नदिन दिनभर नगरपालिका परिसरमा व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । बाक्लो मात्रामा प्रहरी परिचालन गरिएकाले दोहोरो झडप भने हुन पाएन । हरिपूर्वा नगरपालिकामा बल्लतल्ल नगरसभा भएपनि सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अझै गाउँसभा हुन सकेको छैन् । यहाँ पनि राजनीतिक टकराबका कारण गाउँसभा हुन नसक्दा विकास निर्माणका काम ठप्प छ भने साउन महिनादेखिकै तलब, भत्ता निकासा हुन सकेको छैन् ।

Comments
Loading...