पाकिस्तान विमान दुर्घटना कोरोनाभाइरसबारेको कुराकानीका कारण पाइलटको ध्यान अन्यत्र मोडियो

बीबीसी (१०- अषाढ - २०७७)

पाकिस्तानमा गरिएको एउटा अनुसन्धानले गत महिना ९७ जनाको ज्यान जाने गरी भएको पाकिस्तान इन्टरन्याश्नल एयरलाइन्स पीआईएको जहाज दुर्घटनामा मानवीय गल्तीलाई जिम्मेवार ठहर्‍याएको छ।
उड्डयन मन्त्री गुलाम सर्वार खानले संसदलाई त्यसबारे जानकारी दिँदै पाइलट र हवाई नियन्त्रकले उड्डयन मापदण्ड पालना नगरेको बताए।
उनका अनुसार कोरोनाभाइरसबारेको कुराकानीका कारण पाइलटको ध्यान अन्यत्र मोडिएको थियो।
२२ मेमा भएको उक्त दुर्घटनामा दुईजना यात्रु मात्र बाँच्न सकेका थिए।
उड्डयन मन्त्रीले के भने

निकै उचाइमा उडान गरिरहेका पाइलटले अवतरण गियर प्रयोग नगरेको र इन्जिनमा समस्या आएको जानकारी टावरलाई दिन विफल भएको मन्त्री खानको भनाइ थियो। उनले एयरबस ए३२० विमानमा कुनै खराबी नरहेको भन्दै पहिलो अवतरण प्रयासमा ल्यान्डिङ गियरु राम्ररी खोल्न नसकेको र त्यसकै कारण पुन उड्नुअघि छुस्स जमिनमा छोएको बताए।

दोस्रो अवतरणको क्रममा हवाई नियन्त्रकहरूले पाइलटलाई इन्जिन नराम्ररी बिग्रिएकोबारे जानकारी दिन चुकेको उनको भनाइ थियो। उनले भने, कन्ट्रोल टावरले उनलाई विमानको उचाई बढाउन भन्दा पाइलटले म मिलाउँछुु भनेका थिए। त्यहाँनिर उच्च आत्मविश्वास देखियो।
आन्तरिक उडान गरिरहेको उक्त विमान लाहौर शहरबाट कराँची शहरका लागि उडेको थियो।

बीबीसीका सेकन्दर केर्मानी भन्छन प्रारम्भिक अनुसन्धानका अनुसार विमानमा कुनै पनि खालको गडबडी नरहेको उड्डयन मन्त्रीले घोषणा गरेका छन्।तर मन्त्री खानले अनुसन्धानको पूर्ण प्रतिवेदन भने एक वर्षभित्र प्रस्तुत गरिने जनाएका छन्। जसमा अवतरणका क्रममा रेकर्डिङ गरिएका अन्य विवरण राखिनेछ।
मन्त्री खानले पाकिस्तान इन्टरन्याश्नल एयरलाइन्स पीआईएको सरकारले पुनर्संरचना गर्ने वाचा गर्दै त्यसलाई अटेर गर्ने पाइलटहरूविरूद्ध कारबाही गरिने जनाए।

बिमान कराँची विमानस्थल नजिकै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।
ज्यान गुमाउने अधिकांश यात्री इस्टमित्रसँग इद पर्व मनाउन जाँदै थिए।

Comments
Loading...