सर्लाहीमा केहि दिन देखि लगातार बाक्लो हुस्सु र चिसो हावा, हरिपूर्वा को बृद्ध बृद्धा समाजिक सुरक्षा भत्ता समयमा नपाउदा जाडोले कठियांग्रदै

मुकेश झा लोकप्रिय समाचारदाता माघ ११ २०७७

हरिपूर्वा– सर्लाहीमा आज आइतबार पनि बिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा चलिरहेको छ । जसले गर्दा स्थानीय वासिन्दाले अत्यधिक चिसो महसुस गरिरहेका छन् ।

यो चिसोले न्यानो कपडा नभएका अतिविपन्न, गरिब र बनिबुतो एवं मजदुरी गरेर खाने पिछडिएको दलित परिवार सहित हरिपूर्वा नपाको अधिकाशं बृद्ध बृद्धा जो कार्तिक महिनामा पाउने समाजिक सुरक्षा भत्ता माघ महिना बितिरहदा पनि समयमा नपाउदा लगलग कामिरहेका छन् । नगर सभा समयमा नभएको कारण हरिपूर्वाको दलित,गरिब मजदुर परिबारहरु लाई विभिन्न वडाहरुको बजेटमा छुटियाइएको कम्बल बितरणको कार्यक्रमहरु समेत गर्न सकिएको छैन । सर्लाहीमा ग्रामीण भेगका थुपै्र परिवार चिसोबाट अत्यन्त प्रभावित भई आगो बालेर तापिरहेको देखिन्छ ।

बिहान–बेलुकाको छाक टार्नै धउधउ पर्ने धेरै परिवारसँग चिसो छल्न आगो बालेर ताप्नु बाहेक अन्य विकल्प पनि छैन् । दक्षिणी भेगका गाउँ–गाउँमा स्थानीयहरु आ–आफ्नो घर तथा चौक–चौतारामा आगो बालेर तापिरहेका छन् । किसान र मजदुर पनि यो चिसोमा प्रभावित भइरहेका छन् ।

यस क्षेत्रमा केही दिनदेखि दिउँसोपख पारिलो घाम लाग्न छाडेर मौसम धुम्मिनुका साथै बिहान–बेलुका र रातको समयमा चिसो हावा तथा बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित बनेको हो । चिकित्सकले अहिलेको धूलोको प्रदुषण र कठ्यांग्रिदो चिसोले स्वास्थ्य समस्या गढ्ने भएकाले असाध्य ख्याल गर्न सुझाव दिइरहेका छन् ।

जिल्ला अस्पताल मलंगवाका डा. अविनाश कुमार सिंहले अहिलेको चिसो शरीरमा प्रवेश गरे छाती, फोक्सो, घाँटी जस्ता संवेदनशील अंगहरुमा गम्भीरखाले असर गर्ने भएकाले सचेत हुन आग्रह गरेका छन् ।

Comments
Loading...