सार्वजनिक स्थलमा राखिएका चुनावी पोस्टर, पम्प्लेट तथा पार्टीको झण्डा हटाउन सुरु

लोकप्रिय अवाज समाचारदाता/ सर्लाही,बैशाख २२

आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर चुनावी प्रचारप्रसारका लागि उमेदवारहरुले सार्वजनिक स्थलमा टाँस्न लगाएका पोस्टर, पम्प्लेट तथा पार्टीका झण्डाहरु प्रशासनले हटाउन सुरु गरेको छ ।


आज बिहिबार बिहान सर्लाहीको हरिपूर्वा नगरपालिकाको सभाहलमा बसेको निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय अनुसार सार्वजनिक निजी स्थानहरुबाट त्यस्ता चुनावी प्रचार सामग्रीहरु हटाउन सुरु गरिएको छ। समितिले बिहिबार दिउँसोबाटै सुरक्षाकर्मीहरु परिचालन गरेर त्यस्ता सामग्रीहरु हटाउन लगाएका छन् ।बैठकमा जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा उमेदवारहरुले पार्टी कार्यालयबाहेक सार्वजनिक स्थलहरुमा राखिएको निर्वाचनप सम्बन्धि प्रचार सामग्री हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।


बिजुलीको पोल, विद्यालय,मठ मन्दिर, चौक, चौराहा लगायतका सार्वजनिक स्थलहरुमा निर्वाचन आचारसंहिता विपरीत राखिएको निर्वाचन सामग्रीहरु दलहरु आफैले नहटाए सुरक्षाकर्मी लगाएर हटाउने र त्यसमा दलहरुको तर्फबाट कुनै अवरोध नगर्ने निर्णय भएको सहायक प्रमुख निर्वाचन अधिकृत शंकर राज लुइटेलले जानकारी दिए ।उनले प्रचार प्रसारमा डीजे बाजा बजाउन पनि प्रतिबन्ध लगाउने निर्णय भएको जानकारी दिए। डीजे बजाउँदै र ब्यानर टाँगेर हिँड्ने सबारी साधनलाई समेत नियन्त्रणमा लिने बैठकले निर्णय गरेको शस्त्र प्रहरीवल संग्राम्पुरको प्रमुख गंगाराम कार्की ले जनाएको छ ।

Comments
Loading...